
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक खण्ड विस्तार बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार चालु आर्थिक वर्षमा १२६ किलोमिटर सडक विस्तार तथा मर्मतका लागि मात्र रु तीन करोड विनियोजन भएको छ। तर विस्तार तथा स्तरोन्नतिका लागि वार्षिक कम्तीमा रु १५ करोड आवश्यक पर्ने कार्यालय प्रमुख राजेशकुमार यादवले बताए।
गत वर्ष पनि करिब रु तीन करोड मात्र विनियोजन हुँदा केही कल्भर्ट र बाढीले बगाएको पुल निर्माण गरिएको थियो। हालसम्म १२ किलोमिटर सडक विस्तार र १२ वटा कल्भर्ट निर्माण मात्र सम्पन्न भएको छ।


सरकारले गड्डाचौकी–अत्तरिया खण्डलाई चार लेनमा स्तरोन्नति गर्न रु २१ अर्ब विनियोजन गर्ने घोषणा गरे पनि परामर्शदाता नियुक्ति, अध्ययन र ‘इआइए’ प्रक्रिया सुरु हुन सकेको छैन।
पूर्व–पश्चिम राजमार्गको १,०२७ किलोमिटर लम्बाइमध्ये विभिन्न खण्ड दातृ निकायको सहयोगमा विस्तार भइरहेको छ। तर गड्डाचौकी–चिसापानी खण्डमा अध्ययनसम्म नहुँदा स्थानीयले असन्तुष्टि जनाउँदै आएका छन्।
सडक साँघुरो र सवारी चाप बढेका कारण दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले जनाएको छ। तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र यस खण्डमा १२६ वटा दुर्घटना हुँदा १४ जनाको मृत्यु र २४१ जना घाइते भएका छन्।

















