
कृष्णपुर नगरपालिका–२ बंक क्याम्पस चोकस्थित गौरा देवी मन्दिर परिसरमा यस वर्षको गौरा पर्व भब्य र सभ्यतापूर्वक मनाउने तयारी अन्तिम चरणमा पुगेको छ।

नगर प्रमुख हेमराज ओझा र वडा अध्यक्ष अर्जुन साउदको प्रत्यक्ष निगरानीमा सरसफाइ, पानी पिच र मैदान व्यवस्थापनका काम तीव्र रूपमा भइरहेको छ। भदौ १५ गते उद्घाटन कार्यक्रम र भदौ १६ गतेदेखि विभिन्न प्रतियोगिता, सांस्कृतिक तथा धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्।
वडा अध्यक्ष साउदका अनुसार वर्षा हुँदा मैदान हिलाम्मे हुने समस्या समाधानका लागि अग्रिम तयारी गरिएको छ। स्थानीय संघसंस्था, विद्यालय, सहयोगी दातासँगको सहकार्यले मैदान र वरपरका क्षेत्र व्यवस्थित बनाउने काम भइरहेको छ।


समितिका अनुसार यस वर्ष गौरा पर्वमा दैनिक करिब १० हजार दर्शकको उपस्थितिको अपेक्षा गरिएको छ। अत्तरिया बजारदेखि १३ किलोमिटर पश्चिम राजमार्ग नजिकै पर्ने मैदानमा धार्मिक अनुष्ठानसँगै सांस्कृतिक कार्यक्रम हुनेछन्। विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुति र उत्कृष्ट कलाकारको सम्मान पनि कार्यक्रमको विशेष आकर्षण हुनेछ।
आयोजक समितिले सुदूरपश्चिमको गौरा पर्वलाई नमुना पर्वको रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। नगरपालिकादेखि स्थानीयवासीसम्मको सक्रिय सहभागिताले यस वर्ष पर्वलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउने विश्वास व्यक्त गरिएको छ।


















