
बाजुरा: हिमाली गाउँपालिकामा बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ। गत बुधबार राति बिच्छ्या खोलामा आएको बाढीका कारण घर, जग्गा र खाद्यान्न बगाएका स्थानीयलाई शुक्रबार गाउँपालिकाले चामल, नुन, तेल, भाँडाबर्तन र त्रिपाललगायतका सामग्री उपलब्ध गराएको हो।

गाँसबासको समस्या खेपिरहेका स्थानीयलाई तत्कालीन आवश्यक सामग्री वितरण भएपछि केही दिनका लागि भए पनि छाक टार्न सहज भएको हिमाली–१, बिच्छ्याका सब्बले थापाले बताए।
ठूलो मानवीय क्षति

बाढीले हिमाली–१, बिच्छ्याका आठ घर पूर्ण रूपमा बगाएको छ भने नौ घर उच्च जोखिममा रहेका छन्। सोही वडामा ४१ घरमा क्षति पुग्दा २४ परिवार विस्थापित भएका छन्। त्यस्तै, वडा नम्बर ५ कवाडीमा मात्रै १६ परिवार विस्थापित भई ३२ घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए।
गाउँ अन्धकारमा

बाढीले कवाडी खोलामा रहेको लघुजलविद्युत् योजनाको नहर र पावर हाउस बगाएपछि सम्पूर्ण गाउँपालिका अन्धकारमा परेको छ। अध्यक्ष मल्लका अनुसार झन्डै दुई करोड रुपैयाँ लागतमा बनेको सो परियोजना एकै दिनमा नष्ट भएपछि मर्मतका लागि ठूलो रकम आवश्यक छ तर पालिकासँग पर्याप्त स्रोत छैन। विद्युत् अभावले सरकारी तथा गैरसरकारी कार्यालयको काममा समस्या भएको उनले बताए।
खानेपानीमा संकट
बाढीपहिरोले खानेपानीका मुहान र पाइप बगाएपछि हिमाली–१ र ५ का बासिन्दा पिउने पानी अभावमा परेका छन्। स्थानीय छन्चलाल थापाका अनुसार गत वर्ष मात्र पालिकाले खानेपानी सुविधा पुर्याएको भए पनि हाल पुनः समस्या सुरु भएको छ।
“पहिला नै खानेपानीको समस्या थियो, अहिले मुहान र पाइप दुवै बग्दा अवस्था झनै गम्भीर भएको छ,” थापाले भने।



















