
गाजा — प्यालेस्टिनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायली बन्धकको रिहाइका लागि मध्यस्थकर्ताले अघि सारेको नयाँ योजना स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मिस्र र कतारको मध्यस्थतामा बनेको यो प्रस्ताव अमेरिकाले जुन महिनामा प्रस्तुत गरेको खाकामा आधारित छ। प्रस्तावअनुसार पहिलो चरणमा ६० दिनको युद्धविराम लागू हुनेछ। त्यसपछि हमासको नियन्त्रणमा रहेका ५० इजरायली बन्धकमध्ये २० जनालाई दुई चरणमा रिहा गर्ने प्रावधान छ। यसपछि थप युद्धविरामका लागि वार्ता अघि बढाइने उल्लेख गरिएको छ।
तर, इजरायलले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अघिल्लो साता मात्र सबै बन्धकको रिहाइपछि मात्रै कुनै सम्झौता स्वीकार गर्ने बताएका थिए।


यसैबीच, हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि नेपालले कूटनीतिक पहल तीव्र पारेको छ। विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले हालै तेलअभिभमा इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेट गर्दै विपिनको शीघ्र रिहाइका लागि आग्रह गरेका थिए।
विपिन जोशी २०२३ अक्टोबरमा हमासद्वारा इजरायलमा अपहरणमा परेका सात नेपालीमध्ये एक हुन्। उनको रिहाइका लागि नेपाल सरकार, परिवारजन र नेपाली समुदाय निरन्तर पहल गर्दै आएका छन्।


















