
अत्तरिया: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज कैलालीको गेटा अस्पतालमा सञ्चालनमा आएको इमर्जेन्सी सेवाको औपचारिक उद्घाटन गर्ने तयारी रहे पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले त्यसप्रति विरोध जनाएको छ।

समितिले आज विश्वविद्यालय परिसरमा भेला भएर मन्त्रीको उद्घाटन कार्यक्रमविरुद्ध विरोध प्रदर्शन गरेको हो। मन्त्री पौडेल डोटी र डडेल्धुरामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा दिउँसो गेटा अस्पताल पुगेर उद्घाटन गर्ने तयारीमा थिए। तर समितिको विरोधपछि कार्यक्रम स्थगित हुने सम्भावना बढेको छ।

गेटा अस्पतालले गत जेठ ११ गतेदेखि नै १० वटा बेडसहित इमर्जेन्सी सेवा सुरु गरिसकेको छ। आकस्मिक उपचारमा सहजता ल्याउन सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ। तर, दुई महिनादेखि सञ्चालनमा आइसकेको सेवाको उद्घाटन गरेर नाटक मञ्चन नगर्न संघर्ष समितिले चेतावनी दिएको छ।

“मन्त्रीले उद्घाटन रद्द गरेर अनुगमन मात्र गर्नुहुन्छ भने हामीले कुनै बाधा पुर्याउँदैनौं,” संघर्ष समितिका संयोजक लोक राज पाण्डे ‘आगो’ले बताए। समितिले अर्बौँको लगानीमा बनेका संरचना अलपत्र पारेर व्यक्तिगत स्वार्थका लागि देखावटी उद्घाटन नगर्न आग्रह गर्दै वास्तविक काममा ध्यान दिन सरकारलाई आग्रह गरेको छ।

















