
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अपराध नियन्त्रणमा कसैले अवरोध गर्न नहुने स्पष्ट पार्नुभएको छ।

बुधबार जिल्ला समन्वय समितिले धनगढीमा आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा स्थानीय तहको असल अभ्याससम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले अपराध नियन्त्रणका क्रममा “कसैको अनुहार नहेर्ने” आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “कुनै किसिमको अपराध सह्यय हुने छैन, कुनै किसिमको गुण्डागिरी सह्यय हुनेछैन।”
लागूऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन ड्रग डिलरहरूको पहिचान जनस्तरमै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। अपराध नियन्त्रण र लागूऔषध विरुद्धको अभियानमा जनप्रतिनिधिहरूले सक्रिय सहयोग गर्नुपर्नेमा समेत उहाँको भनाइ थियो।


मुख्यमन्त्री शाहले संविधानअनुसार बनेका ऐन–नियम सबैले मान्नुपर्ने र प्रदेश निजामति ऐन तथा स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन कार्यान्वयनमार्फत कर्मचारीको वृत्ति विकासमा टेवा पुगेको बताउनुभयो। ऐन निर्माणका क्रममा आएका समस्या कर्मचारी नेतृत्वसँगको संवादबाट समाधान भएको र आवश्यक परे संशोधन गर्न प्रदेश सरकार तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
त्यसैगरी उहाँले पालिकामा हुने वित्तीय हस्तान्तरणबारे जानकारी दिँदै, पहिलो पटक मुख्यमन्त्री हुँदा दुई प्रतिशत रहेको बजेटलाई क्रमशः बढाउँदै पहिलो वर्षमा आठ प्रतिशत र दोस्रो कार्यकालमा बाह्र प्रतिशत पुर्याएको बताउनुभयो।































