
दार्चुला: दार्चुलामा बिहीबार बिहान जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाड गाउँपालिकास्थित होपरीगाडतर्फ जाँदै गरेको ग ३ च ३३५१ नम्बरको रातो प्लेटको जिप बिहान करिब साढे ८ बजेतिर दुर्घटनामा परेको हो ।

प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा नौगाड–३ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटा, नौगाड–४ का २६ वर्षीय मोहन ठगुन्ना, त्यहीँका ३५ वर्षीय उमेश ठगुन्ना र मार्मा–५ की १७ वर्षीया अप्सरा महता रहेका छन् ।

त्यसैगरी, नौगाड–४ की ४० वर्षीया रम्भा महता, १२ वर्षीय राम महत, श्याम महता, १४ वर्षीया कान्छी महत, ७२ वर्षीया गम्बा महता र अपिहिमाल–४ की १९ वर्षीया लक्ष्मी कार्की सामान्य घाइते भएका छन् ।

लाकेन्द्रसिंह ठगुन्ना चालक रहेको उक्त जिप चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ । गाडीमा ११ जना सवार रहेका मध्ये गम्भीर घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।



















