
अत्तरिया : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गेटा अस्पतालको आकस्मिक सेवाको सुटुक्क उद्घाटन गरेका छन् । स्थानीयले विरोध गर्ने भएपछि बुधबार उद्घाटन गर्ने कार्यक्रम स्थगित गरिएकोमा आज मन्त्री पौडेलले गेटा अस्पतालको १० शय्याको आकस्मिक सेवा उद्घाटन गरेका हुन् ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने बाँचा गरेका मन्त्री पौडेलले एउटा कक्षको मात्र उद्घाटन गर्न लागेको भन्दै बुधबार विरोध गरेका थिए । त्यसपछि बुधबार मन्त्री पौडेलले आकस्मिक सेवाको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको थियो ।

तर, आज भने मन्त्री पोडेलले सुटुक्क गेटा अस्पतालको आकस्मिक सेवाको उद्घाटन गरेका हुन् । सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ ले कसैलाई पनि जानकारी नदिएर गोप्य रुपमा गेटा अस्पतालको आकस्मिक सेवाको उद्घाटन गरिएको बताए । उनले भने ‘ गोप्य रुपमा १० शय्याको आकस्मिक सेवा उद्घाटन गरिएको छ । हामीले ३ सय शय्याको अस्पताल सञ्चालन हुनुपर्ने,एमबीबीएस पढाइ सुरु हुनुपर्ने माग राखेका छौँ ।सञ्चालन नभए संघर्षका कार्यक्रम जारी राख्छौँ ।’

गेटामा विश्वविद्यालय सञ्चालनका लागि ६ अर्ब बढीका भौतिक संरचना निर्माण गरिएका भएपनि हाल ५० शय्याको अस्पताल सञ्चालनमा छ ।

















