
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बडिमालिकाको विकासका लागि कार्यदल गठन हुने भएको छ । बडिमालिकामा पूर्वाधार विकास तथा प्रवर्धन सम्बन्धी कार्ययोजना तयार गर्न कार्यदल गठन हुने भएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा भएको बडिमालिका क्षेत्रको पर्यटन विकासका क्रियाकलापहरूको आगामी कार्यदिशा सम्बन्धि छलफलमा कार्यदल गठन गर्ने जानकारी दिइएको छ ।

बडिमालिकामा पूर्वाधार विकास तथा प्रवर्धन गर्न हालसम्म भएका कार्यको अध्ययन र समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री शाहले बताए । उनले बडिमालिकाको विकास एवम् प्रवर्धन लागि तत्काल र दिर्घकालमा गरिने कार्यहरूको कार्ययोजना तयार गर्न कार्यदल गठन हुने जानकारी दिए ।
मुख्यमन्त्री शाहले यसअघि नै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई बडिमालिका मन्दिर क्षेत्रमा प्राविधिक टोली खटाउन र आवश्यक संरचना निर्माणको थालनी गर्न निर्देशन दिई सक्नुभएको छ । बाजुरामा रहेको प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिरमा यस वर्ष करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्।


साउन १४ गतेदेखि २३ गतेसम्म मन्दिरमा मुख्य पूजा र मेला लागेको थियो। यस पटक नेपाली सेनाले बनाएको नयाँ कलात्मक मन्दिर पनि आकर्षणको केन्द्र बन्यो। भक्तजनहरूले रातभर लाइन बसेर दर्शन गरेका थिए।
धार्मिक विधिअनुसार ९ दिनसम्म विशेष पूजा नवाह गरियो। देशका विभिन्न ठाउँ र भारतबाट समेत भक्तजनहरू आएका थिए। बडिमालिका समुद्री सतहबाट करिब ४२०० मिटर उचाइमा छ। यहाँबाट हिमाल, हरियाली पाटन, दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पनि देख्न पाइन्छ।
यद्यपि, बाटो राम्रो नभएको, खानेपानी, शौचालय र बासको राम्रो व्यवस्था नभएकाले भक्तजनहरूलाई समस्या परेको छ। स्थानीयले राज्यले ध्यान दिनुपर्ने माग गरेका छन्।





























