
कैलारी गाउँपालिका–३ खोनपुर र शिवरत्नपुरका किसान मोहना नदीको कटानले चिन्तित भएका छन्।

नदीले दुबै गाउँतर्फ निरन्तर कटान गर्दै अनेकौँ किसानको खेतीयोग्य जमिन बगाइसकेको छ। यस वर्ष ठूलो बाढी नआए पनि कटान भने निरन्तर भइरहेको स्थानीयले बताएका छन्।
“नदीले तीन बिघासम्म जमिन कटान गरिसक्यो, अब बाटोसमेत कटान भइरहेको छ,” शिवरत्नपुरका किसान कमल चौधरीले बताए। केही वर्षअघि भएको कटानले गाउँका परिवार विस्थापित हुनुपरेको स्मरण गर्दै उनले फेरि गाउँ जोखिममा परेको चिन्ता व्यक्त गरे।


खोनपुरतर्फ पनि नदीले करिब ३५ बिघा जमिन कटान गरिसकेको वडा अध्यक्ष सन्तराम चौधरीले जानकारी दिए। उनका अनुसार कटानले नर्सरीसम्म असर पुर्याइसकेको छ।
“पालिकाको सानो बजेटले कटान नियन्त्रण सम्भव छैन,” उनले भने, “तटबन्ध निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्न जरुरी छ।”































