

अत्तरिया – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालसँग सम्बन्धित सामाजिक सञ्जालमा फैलिएको समाचारमा गलत जानकारी रहेको पुष्टि भएको छ। खगेन्द्र सुनारले मन्त्रीको तस्बिरसहित सामाजिक सञ्जालमा लेखेका गम्भीर आरोप – कि मन्त्रीको गाडीले दलित बालकलाई किचेर हत्या गरेको – सत्य नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रहरीका अनुसार, डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण कोलीको मृत्यु गत साउन १७ गते विद्युतको पोल छोएको कारण करेन्ट लागेर भएको थियो। तत्काल उपचारका लागि उनलाई गोकुलेश्वर अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा निधन भयो। प्रहरीले घटनासम्बन्धी कानुनी प्रक्रिया अनुसार शव १८ साउनमा मृतकका बाजेलाई बुझाएको छ।

सामाजिक सञ्जालमा भनिएको पाँच लाख रुपैयाँ पीडितको खातामा जबर्जस्ति हालिएको विषय भने सत्य रहेको छ। डिलासैनी गाउँपालिका–३ का वडाध्यक्ष रघुबिर बोहराले स्थानीयबाट संकलन गरी उक्त रकम मृतक बालकका परिवारलाई हस्तान्तरण गरेको पुष्टि गरे।

मन्त्री पालको सचिवालयले भने, सामाजिक सञ्जालमा हत्याजस्ता गम्भीर आरोप लगाउने प्रयत्न चरित्र हत्या समान भएको भन्दै, सुनारविरुद्ध कानूनी कारबाहीको विषयमा परामर्श भइरहेको जनाएको छ।


































