
सामाजिक सञ्जालमा कपोकल्पित कुरा लेखेर चरित्र हत्या गरेको भन्दै सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले प्रहरीमा उजुरी दिएका छन् । मन्त्री पालले सामाजिक संन्जालमा जथाभावी लेखेर चरित्र हत्या गरेको भन्दै दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारविरूद्व जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सुनारलाई कारवाहीको माग गर्दै मन्त्री पालका छोरा मुकेश पालले उजुरी दिएको बताए ।


उक्त उजुरीलाई आवश्यक कारवाहीका लागि साइबर ब्युरोमा लेखेर पठाइएको डीएसपी सिंहले बताए । सुनारले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बैतडीको डिलासैनी गाउँपालिका-३ मा १३ वर्षीय किरण कोलीलाई मन्त्री पालले गाडीले किचेर हत्या गरेको गम्भीर आरोप लगाएका थिए । प्रहरीकाअनुसार कोलीको गत १७ साउनमा स्थानीय डिन्नीगाडमा वालुवा संकलन गर्ने बेला विद्युतको पोलमा छुदा करेन्ट लागेर मृत्यु भएको छ ।
भोलिपल्ट उनको परिवारले शव बुझेको थियोे । तर सुनारले भने मन्त्री पालले गाडीले किचेर हत्या गरेको गम्भीर आरोप लगाउदै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । मन्त्रीको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त कुरा कपोकल्पित र मन्त्रीको बदनाम गर्ने उद्देश्यले लेखिएको बताएका थियो । मन्त्रीविरूद्व सामाजिक सञ्जालमा तथ्यहीन कुरा लेखेको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सुनारलाई कारवाही गर्न माग गरेको छ ।
प्रदेश सचिव रणबहादुर चन्दले विज्ञप्ति जारी गर्दै सुनारलाई कारवाही गर्न माग गरेको छ । यस्तै एमाले प्रदेश संसदीय दलले पनि मन्त्रीविरूद्व सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारवाही गर्न माग गरेको छ ।
































