तीन दशकदेखि बन्द दार्चुलाको गोकुलेश्वर विमानस्थल पुनर्निर्माण अलपत्र

Image
Nisarga Hospital

दार्चुलाः तीन दशकदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थलको पुनर्निर्माण काम बजेट अभावमा अलपत्र परेको छ। चार वर्षअघि केएस कन्स्ट्रक्सन प्रालि, धनगढीले फिलिङ र ग्याबिनको काम गरे पनि त्यसयता काम अघि बढ्न सकेको छैन।

CP Hospital Dhangadhi

शैल्यशिखर नगरपालिका–९ मा रहेको यो विमानस्थल सञ्चालनमा आए दार्चुला मात्र नभई बैतडी र बझाङका नागरिकले समेत लाभ पाउने अपेक्षा गरिएको छ। तर पछिल्ला वर्षमा बजेट विनियोजन नहुँदा निर्माण ठप्प भएको भन्दै स्थानीयवासीले तत्काल बजेट उपलब्ध गराई बाँकी काम पूरा गर्न सरकारसँग माग गरेका छन्।

२०४६ सालदेखि सञ्चालनमा आएको विमानस्थल २०५० सालदेखि बन्द छ। २०६० सालदेखि कार्यालय सहयोगीको भरमा छाडिएको यो विमानस्थल अहिले जीर्ण अवस्थामा पुगेको छ। भवन भग्नावशेषमा परिणत भएको छ भने धावनमार्ग खेल मैदान र गौचरन बनेको छ।

nawajiwan
Attariya Hospital

आर्थिक वर्ष २०७७/७८ मा अर्थ मन्त्रालयले पुनर्निर्माणका लागि ५० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट सुनिश्चित गरेको थियो। त्यसपछि २०७८ सालमा तीन करोड ५८ लाखमा फिलिङ र ग्याबिनको काम सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का सम्झौता गरिएको थियो। तर नगरप्रमुख विजयसिंह धामीका अनुसार पछिल्ला वर्षमा बजेट निकासा नहुँदा काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन।

दार्चुलाबाट निर्वाचित प्रदेश तथा संघीय सांसद र सरकारको बेवास्ताका कारण विमानस्थल अलपत्र परेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। अहिले हवाई सेवा नहुँदा नागरिकले प्रदेश राजधानी धनगढीदेखि झन्डै ३५० किलोमिटर लामो कठिन सडकयात्रा गरेर मात्र सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।

दार्चुलाको विकास र सुविधाजनक आवागमनका लागि अत्यावश्यक मानिएको गोकुलेश्वर विमानस्थललाई छिट्टै पुनर्निर्माण गरी सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको जोडदार माग छ।

Advertize US