
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा रहेको फोहरमैला व्यवस्थापन केन्द्रमा श्रीकृष्ण सामुदायिक वन उपभोक्ता समूहले तालाबन्दी गरेको छ। समूहले ११ बुँदे माग राख्दै शुक्रबारदेखि केन्द्रमा तालाबन्दी गरेको हो।

समूहले अन्य क्षेत्रको फोहर नल्याउने, आवासीय क्षेत्रमा मेसवायर जाली जडान गर्ने, प्रत्येक उपभोक्तालाई एलपी ग्यास उपलब्ध गराउने, वनहरा र सनवोरा नदीमा तटबन्ध निर्माण गर्ने, प्रभावित बस्तीलाई रोजगारी दिने लगायतका माग अघि सारेको छ। यस्तै, आर्यघाट क्षेत्र व्यवस्थित गर्ने, डस्टबिनको व्यवस्था गर्ने, सडक कालोपत्रे र बत्ती जडान गर्ने, सीमसार क्षेत्र संरक्षण गर्ने, स्वास्थ्य बीमा तथा निःशुल्क उपचार सुविधा उपलब्ध गराउने र समयावधि पूरा भएपछि जग्गा फिर्ता गर्ने सम्झौता नगरपालिकाले पालना नगरेकाले तालाबन्दी गरिएको समूहका अध्यक्ष अम्मरबहादुर ऐरले बताए।
तालाबन्दीका कारण नगरक्षेत्रको फोहर सङ्कलन र विसर्जन कार्य पूर्णरूपमा अवरुद्ध भएको छ। बजार क्षेत्रमा फोहर थुप्रिँदै जाँदा सरसफाइमा चुनौती बढेको छ।


एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोगमा करिब ३० करोड लागतमा निर्माण गरिएको आधुनिक फोहरमैला व्यवस्थापन केन्द्र दैनिक छ टनसम्म फोहर व्यवस्थापन गर्न सक्ने क्षमता राख्छ। प्राविधिक अध्ययनअनुसार यो केन्द्र करिब दुई दशकसम्म सञ्चालन गर्न सक्ने अनुमान गरिएको थियो।
तर, सामुदायिक वन उपभोक्ता समूहका पूर्वसचिव दिलबहादुर साउदका अनुसार, बारम्बार ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले मागलाई बेवास्ता गर्दै आएको छ।



















