
नेकपा (एमाले) का सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले भारत र चीनबीच भएको लिपुलेकसम्बन्धी दुई पक्षीय सम्झौता नेपालको राष्ट्रियता र सार्वभौमसत्तामाथि गम्भीर प्रहार भएको बताएका छन्।

प्रेस चौतारी नेपाल कैलालीले शनिबार धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व उद्योगमन्त्री भट्टले लिपुलेक नेपाली भूमि भएको ऐतिहासिक प्रमाण स्पष्ट रहेको बताए। तर, दुई ठूला शक्ति राष्ट्रले आपसी सम्झौता गरेर नेपालको भूभागमा हस्तक्षेप गरेको भन्दै उनले कडा आपत्ति जनाए।

“लिपुलेक हाम्रो भूमि हो भन्ने कुरा प्रमाणले पुष्टि गर्छ। तर भारत–चीन सम्झौता नेपालमाथि ठूलो प्रहार हो। यसको विरोध गर्नुपर्छ,” भट्टले भने। उनले पहिलो प्रतिवाद संसद्बाटै गर्नुपर्ने र सुदूरपश्चिमको भावनासँग गाँसिएको विषय भएकाले प्रत्येक तहबाट आवाज उठाउनुपर्नेमा जोड दिए।

भट्टले सुदूरपश्चिमका जनतालाई राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चीन तथा भारत भ्रमणका क्रममा यो विषयलाई उठाउने जानकारी समेत दिए।

















