
अत्तरियाः बझाङ्गी सेवा समाज अत्तरियाले शनिबार मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४९औँ जन्मजयन्तीको अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा अत्तरिया हस्पिटल र नेपाल रेडक्रस सोसाइटी धनगढीले सहकार्यमा ४७ पिन्ट रगत संकलन गरेका थिए।


“रक्तदान नै जीवनदान हो, सेवा नै धर्म हो” भन्ने नाराका साथ आयोजित कार्यक्रममा दर्जनौं स्वयंसेवकले रक्तदान गरेका छन्। कैलालीका दीपक नेपाल उपाध्यायलाई ११० पटक रक्तदान गरेको उपलब्धिको सम्मान स्वरूप दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो।
आयोजक समाजका अध्यक्ष झलक अयडी ले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै रक्तदानलाई निरन्तर समाजसेवाको अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
अत्तरिया हस्पिटलका प्रशासन प्रमुख डिल्लीराज पाठक का अनुसार १०० शैयाको क्षमतासहितको अस्पतालमा विशेषज्ञ सेवा, सिटी स्क्यान, आईसीयू, इन्क्युबेटरलगायत अत्याधुनिक स्वास्थ्य सुविधा उपलब्ध छन्।





















