
गोदावरी नगरपालिका–१० स्थित धाईया सलानी सामुदायिक बन उपभोक्ता समुहले शनिबार महिलाहरुका लागि तीज विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको अध्यक्षता समुहका भीम जैगडी ले गर्नु भएको थियो भने प्रमुख अतिथि नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) रहेका थिए। वडाध्यक्ष शाहीले सामुदायिक बनले महिलाहरुलाई लक्षित गरी आयोजना गरेको यस्तो कार्यक्रम महिला समुदायमा आपसी भेटघाट र मनोरञ्जनको अवसर प्रदान गर्ने बताए।

अध्यक्ष जैगडीले भने, “हिन्दु धर्मावलम्बीहरुको महान पर्व हरितालिका तीजले महिलाहरुलाई एकताबद्ध गर्न र आपसी मायाप्रेम साट्न सहयोग गर्छ। यसै उद्देश्यका साथ सामुदायिक बनका महिला दिदीबहिनीका लागि कार्यक्रम आयोजना गरिएको हो।”

कार्यक्रममा वडासदस्य जीतबहादुर जैगडी, सामुदायिक बनका महिलाहरु र स्थानीयवासीहरुको उपस्थिती रहेको थियो।

















