
कैलालीको गेटामा अवस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा स्थानीयको सहभागितामा व्यापक सरसफाइ गरिएको छ। विश्वविद्यालय सञ्चालनको माग गर्दै संघर्षरत समितिले आइतबार बिहान परिसरमा झाडी र फोहर सफा गरेको हो।

सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेका अनुसार, विद्यार्थीहरू पढ्न सुरु नगरेसम्म र अस्पतालको क्षमता ५० शय्याबाट ३ सय शय्यामा विस्तार नगरेसम्म आन्दोलन जारी रहनेछ। समितिका सचिव धर्म सिंह कुवरले यसलाई साङ्केतिक दबाब स्वरूप गरिएको बताए।


स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सात महिनाअघि ३ सय शय्याको अस्पताल निर्माण गर्ने वाचा गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदा इमर्जेन्सी सेवा उद्घाटन मात्र गरिएको थियो। सदस्य विनोद विष्टले विश्वविद्यालय ऐन कार्यान्वयनमा सरकार उदासीन भएको र प्रशासनिक टिम नियुक्तिमा ढिलाइ भएको बताए।


स्थानीयहरू भने लामो समयदेखि निर्माण भएका संरचना जीर्ण बन्दै गएकोमा चिन्तित देखिएका छन्। संघर्ष समितिले विश्वविद्यालय सञ्चालन र अस्पताल विस्तारका लागि दबाब जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।






















