

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गरेको छ । १० वटा सूचकको आधारमा गरिएको मूल्याङ्कनअनुसार सुदूरपश्चिमका स्थानीय तहहरूबीच उल्लेखनीय अन्तर देखिएको छ ।
कैलालीमा घोडाघोडी नगरपालिका ८५.५० अङ्कसहित जिल्लामात्र नभई प्रदेशकै उत्कृष्ट बनेको छ । धनगढी उपमहानगरपालिका (८४), गोदावरी नगरपालिका (८१), चुरे गाउँपालिका (८१) तथा बर्दगोरिया गाउँपालिका (७९.२५) ले पनि उच्च अंक ल्याएका छन् । तर मोहन्याल गाउँपालिका ५५.५० अंकसहित पुछारमा छ ।
कञ्चनपुरमा बेदकोट नगरपालिका ८३.२५ अङ्कसहित पहिलो बनेको छ भने दोधारा–चाँदनी नगरपालिका ७१.५० अंकमा सबैभन्दा कमजोर ठहरिएको छ । यस्तै बेलौरी (८२.५०), लालझाडी (८१.७५), बेलडाँडी (८१.७५) र भीमदत्त (८१.२५) ले उच्च अंक ल्याएका छन् ।
बाजुरामा बुढीगंगा नगरपालिका ८४.२५ अंकसहित उत्कृष्ट बनेको छ भने बुढीनन्दा नगरपालिका ६१.७५ अंकसहित पछाडि परेको छ । बैतडीमा पुर्चौंडी नगरपालिका ७७.२५ अंकसहित पहिलो हुँदा मेलौली नगरपालिका ३१.२५ अंकसहित पुछारमा परेको छ ।
यस्तै, अछामको पंचदेवल विनायक नगरपालिका (७७.५०), डडेल्धुराको अजयमेरु गाउँपालिका (८३.२५), डोटीको जोरायल गाउँपालिका (८२.२५), दार्चुलाको शैल्यशिखर नगरपालिका (८१) र बझाङको केदारस्युँ गाउँपालिका (७९.७५) आ–आफ्ना जिल्लामा अग्रस्थानमा छन् ।
मन्त्रालयका अनुसार लिजा मूल्याङ्कन कार्यान्वयनको उद्देश्य कार्यप्रणाली सुधार, शासकीय पद्धति सुदृढीकरण, विकास व्यवस्थापनमा पारदर्शिता तथा स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्नु हो । यसका लागि शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक योजना, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सहकार्य–समन्वय जस्ता १० सूचकलाई आधार मानिएको छ ।

















