
टिकटक क्रिएटर अंश वर्माले गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई मुक्त गर्न जनचेतना अभियान थालेका छन्। करिब १० लाख फलोअर्स रहेको आफ्नो टिकटक खाताबाट उनले अन्तर्राष्ट्रिय स्तरमा ट्रेन्ड चलाउँदै समर्थन जुटाइरहेका छन्।

वर्माका अनुसार टिकटक अहिले सबैभन्दा प्रभावशाली डिजिटल माध्यम भएकाले यसैलाई उपयोग गरेर आवाज बुलन्द गरिएको हो। “मैले गर्न सक्ने योगदान भनेको पहल हो,” उनले भने, “त्यसैले सबैलाई विपिनको पक्षमा दैनिक भिडियो बनाउन आग्रह गरेको छु।” उनका अनुसार अहिले देश–विदेशका सयौं प्रयोगकर्ताले जोशीको समर्थनमा सामग्री सार्वजनिक गरिरहेका छन्।
स्वयम् पनि उनले नियमित भिडियो बनाइरहेको जनाउँदै वर्माले भने, “पक्कै पनि निरन्तर दबाबले सम्बन्धित निकायसम्म सन्देश पुग्नेछ।”

यसअघि प्रधानमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्मले सामाजिक सञ्जालमार्फत विपिनको रिहाइका लागि सरकारले सबै प्रयास गरिरहेको बताएका थिए। इजरायली सरकारले जोशीकी आमा र बहिनीलाई पनि गतसाता त्यहाँ बोलाएको थियो, जहाँ अन्तर्राष्ट्रिय समुदायसँग अपील गरिसकेपछि उनीहरू नेपाल फर्किएका छन्।

विपिन जोशीबारे
कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञान अध्ययनरत विद्यार्थी हुन्। नेपाल–इजरायलबीचको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनी अन्य नेपाली विद्यार्थीहरूसँग कृषि कामका लागि इजरायल पुगेका थिए।
गाजानजिकैको कृषि फर्ममा कार्यरत १७ नेपालीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते भएका थिए। जोशी त्यही घटनापछि सम्पर्कविहीन भएका थिए। उद्धार भई नेपाल फर्किएका सहपाठीका अनुसार आक्रमणका बेला विपिनले साथीहरूलाई बचाउन प्रयास गरेका थिए, तर पछि उनलाई हमास लडाकुले लगेको जनाइएको छ।

















