
अत्तरिया – नेपाल महिला सङ्घ क्षेत्र नम्बर- ४ को आयोजनामा तीजको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

महिला सङ्घ क्षेत्र नम्बर ४ की सभापति इश्वरी रावलको सभा अध्यक्षतामा आइतबार अत्तरियामा आयोजित उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् विशेषाधिकार समितिकी सभापति तुलसी देवकोटा प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, कैलाली क्षेत्र नम्बर ४ का सभापति वसन्त रोकाया, नेपाली काँग्रेसको महिला विभागका जिल्ला तथा विभिन्न नगर समितिका प्रतिनिधिहरू, महासमिति सदस्य लगायत पार्टीप्रति आस्थावान महिलाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले हाल अभ्यासमा रहेको महिला अधिकार सुनिश्चित गर्न गर्न नेपाली काँग्रेसको महत्त्वपूर्ण योगदान रहेको बताइन् ।

उनले सभ्य र भव्य ढङ्गबाट तीज मनाउन पनि सबैलाई आग्रह गरिन् । कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख भट्टले काँग्रेसका महिला सङ्गठनहरूलाई सक्रिय बन्न आग्रह गरे ।
आफ्नो लागि समय छुट्टाएर सार्वजनिक कार्यक्रमहरूमा समेत सहभागिता जनाई आफ्नो क्षमता अभिवृद्धि गर्न समेत उनले महिलाहरूलाई आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै क्षेत्रिय सभापति रोकायाले पछिल्लो समयको भड्किलो तीजले महिला मात्रै नभई पुरुष पनि तनावमा परेको गुनासो गरे ।
काँग्रेस आस्थावानहरु सादा जीवन उच्च विचारको व्यक्ति हुने भएकोले तडकभडक नगर्न उनले महिलाहरूलाई आग्रह गरे । त्यस्तै कार्यक्रममा बोल्ने महिलाहरूले हरेक क्षेत्रमा महिला सहभागितालाई कोटामा मात्रै सिमित गर्न नहुने बताएका थिए । कार्यक्रमका सहभागिहरुले कार्यक्रममा दर खाएर नाचगान गरेका थिए ।


















