
कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेस्थित विश्वनाथ महादेव मन्दिर परिसरमा यही भदौ १६ गतेदेखि २१ गतेसम्म भव्य गौरा पर्व विशेष मेला आयोजना हुने भएको छ।

गौरा पर्व समितिको आयोजनामा हुने यस मेलामा सुदूरपश्चिमका चर्चित डेउडा कलाकारहरूका साथै स्थानीय कलाकारहरूको पनि आकर्षक प्रस्तुति रहनेछ। समितिकी संयोजक लक्ष्मी बिनाडीले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै विभिन्न कार्यक्रममार्फत गौरा पर्वलाई अझ भव्य बनाउन लागिएको बताइन्।

उनका अनुसार, १६ गतेबाट सुरु हुने मेलामा १७ गते सावित्री धामी र उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी र कृष्ण धामी, १९ गते टिका सानु र दीपक रिमाल, २० गते पदम जोशी र तुलसी बुढाले प्रस्तुति दिनेछन्। यस्तै २१ गते स्थानीय कलाकारहरूको प्रस्तुतिसहित समापन समारोह हुनेछ।

मेलाको व्यवस्थापनमा स्याउले बजार व्यवस्थापन समिति, साइपाल र शिवशत्ति युवा क्लबको सहयोग रहनेछ भने विभिन्न सङ्घ–संस्था तथा सामुदायिक वनहरूले आर्थिक सहयोग गर्ने भएका छन्।
सुदूरपश्चिमको मौलिक संस्कृति जगेर्ना गर्नुका साथै मनोरञ्जन, स्थानीय भेषभूषा र उत्पादनको प्रदर्शन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको समितिले जनाएको छ। मेलाको सफलताका लागि विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ।


















