
भारतको उत्तराखण्ड, उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रमा पर्ने धरालीको बाढीमा बेपत्ता भएका नेपालीहरूको आफन्तहरू घर फर्किएका छन्। तीन साताअघि ‘क्लाउड ब्रस्ट’ का कारण खीरगंगा नदीमा आएको भीषण बाढीमा परेर कैलाली, टीकापुर–८ का रमेश बुढा र उनकी श्रीमती प्रिया बेपत्ता भएका थिए। उनीहरूका आफन्त आइतबार गड्डाचौकी नाकामार्ग हुँदै घर पुगेका हुन्।

बेपत्ता भएका दम्पतीका परिवारजनले हरिद्वारमै कुशको पुत्ला बनाएर अन्तिम संस्कारसँगै किरिया गरेका थिए। आफन्त प्रकाश बुढाका अनुसार रोजगारीका लागि भारत गएका उनीहरूले परिवारका सदस्य मात्र नभई आफ्नो कमाइ समेत बाढीले बगाएको बताए। “विपद्को बेला बिरानो ठाउँमा सहयोग गर्ने कोही भएन। त्यहाँको सरकारले आफ्ना नागरिकलाई मात्र क्षतिपूर्ति दिने भने पनि हामीलाई कसैले सोधेन,” उनले दुखेसो पोखे।

आर्थिक समस्या झेलिरहेका उनीहरूलाई गैर–सरकारी संस्था निड्स नेपाल ले घरसम्म पुग्ने खर्च र बाटोमा खानाको व्यवस्था मिलाएर सहयोग गरेको हो।

धरालीको बाढीमा २१ नेपालीसहित ६८ जना बेपत्ता भएका थिए। हालसम्म केवल एक स्थानीयको शव मात्र भेटिएको छ, बाँकी भेटिने सम्भावना अत्यन्त न्यून छ। यही कारण धेरै परिवारले हरिद्वारमै किरिया गरेर घर फर्किन थालेका छन्।
































