
बैतडीको दशरथचन्द नगरपालिकाले नगरभित्रका मुख्य बजार, सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले ‘उज्यालो दशरथचन्द’ कार्यक्रम आइतबार साँझ शुभारम्भ गरेको छ।

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक सहयोगमा गोठलापानी, गढी र शाहीलेक बजारमा ७२ वटा बल्ब जडान गरी नगर प्रमुख पुष्करराज जोशीले स्वीच अन गरेर कार्यक्रम सुरु गरेका हुन्।
सूचना अधिकारी राजबहादुर बिष्टका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा ९ लाख ९९ हजार रुपैयाँ बजेट राखिएको थियो भने चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरिएको छ। यसबाट देहीमाण्डौं, मुस्याचौर, झुलाघाट लगायतका बजार र सार्वजनिक स्थानमा बत्ती जडान गरिनेछ।


नगर प्रमुख जोशीले भने, “उज्यालो दशरथचन्द अभियानले नगरभित्रका सबै सार्वजनिक स्थान उज्यालो बनाउने मात्र होइन, सुन्दरता र सुरक्षा पनि सुनिश्चित गर्नेछ।”
विद्युत् लाइन पुगेका स्थानमा परम्परागत बत्ती र नपुगेका स्थानमा सौर्य बत्ती जडान गरिने कार्यक्रमको विशेषता रहेको छ।

















