बझाङमा पूर्वाधार विकास कार्यालयको कामप्रति कडा असन्तुष्टि

Image
Nisarga Hospital

रमेश बहादुर सिंह/बझाङः बझाङ जिल्लाको सडक, पुल निर्माण लगायत पूर्वाधार विकासका जिम्मेवारी बोकेको पूर्वाधार विकास कार्यालयको सेवाप्रति चर्को गुनासो उठेको छ।

CP Hospital Dhangadhi

जिल्लाको नवौँ जिल्ला सभामा कार्यालय प्रमुख नूर्पराज जोशीले प्रगति विवरण प्रस्तुत गर्ने क्रममा विभिन्न जनप्रतिनिधिहरूले गम्भीर लापरबाहीको आरोप लगाएका हुन्। उनीहरूका अनुसार विकास निर्माणका योजना ढिलाइ हुनु र गुणस्तरहीन हुनुको मुख्य कारण कार्यालय प्रमुखसहित प्राविधिकहरूको गैरजिम्मेवारी र उदासिनता हो।

जनप्रतिनिधिहरूले झन्ना–जडाड–धमधुर–कुच्चा सडकखण्ड, थलारा गाउँपालिकाको सेरालागाउँ–आठबीस सडक, बुगलको गंनै सडक, बिचगडा–बाग्थला सडक, तल्लोकोटको लोकड्न सडक, बस्टी–तल्लोकोट सडक, पानकोट–जडाड–कुच्चेखोला–लम्तडा सडक लगायतका योजनामा ढिलासुस्ती र कमजोर गुणस्तर देखिएको बताए।

nawajiwan

Attariya Hospital

योजना ढिलो हुनुका साथै गुणस्तरहीन भएको भन्दै उनीहरूले ठेकेदार र कार्यालयका कर्मचारीबीच मिलेमतोमा कमिसन खाने प्रवृत्ति मौलाएको आरोप समेत लगाए। मष्टा गाउँपालिकामा निर्माणाधीन लाछिगाड पक्की पुल र सेती लोकमार्गअन्तर्गतको चैनपुर–ताक्लाकोट सडक खण्ड पनि ढिलाइ र गुणस्तर अभावको शिकार बनेको जनाइएको छ।

यसबारे कार्यालय प्रमुख जोशीले भने, “हामीले ठेकेदारलाई बारम्बार ताकेता गरेका छौं। केही कमजोरी अवश्य छन्, तर गुणस्तरीय कामका लागि कार्यालय निरन्तर प्रयासरत छ।” उनले कानुनी प्रक्रिया जटिल भएकाले सम्झौता तोड्न कठिन हुने स्पष्ट पारे।

सभामा विभिन्न स्थानीय तहका प्रमुखहरूले कार्यालयको कामप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। तलकोट गाउँपालिका अध्यक्ष कलक रोकाया, थलारा गाउँपालिका उपाध्यक्ष राम खाती, बुगल नगरपालिकाका मेयर जयबहादुर धामी, उपमेयर धनबहादुर बोहरा र नागरिक समाज अगुवा धर्मजङ बहादुर सिंहलगायतका नेताहरूले कार्यालयको कामलाई कडा आलोचना गरेका थिए।