
अत्तरियाः सवारी साधनमा देवनागरी लिपि हटाई रोमन लिपिमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएको छ।

परिषद्ले देशव्यापी अभियानका रूपमा सबै जिल्लामा प्रशासन प्रमुखमार्फत सरकारको निर्णय खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाउँदै आएको छ। सोही अभियानअन्तर्गत राष्ट्रिय सचिव प्रेम बोहोराको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो।

परिषद्का अनुसार नेपाल सरकारको यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सबै सवारी साधनमा रोमन लिपिमा मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ। परिषद्ले उक्त निर्णय तुरुन्तै फिर्ता गरी देवनागरी लिपिमा नै नम्बर प्लेट कायम गर्नुपर्ने माग गरेको छ।

ज्ञापनपत्र बुझाउने क्रममा परिषद्का राष्ट्रिय सचिव बोहोरा, राष्ट्रिय सह–संगठन सचिव छितराज न्यौपाने, राष्ट्रिय सदस्य, प्रदेश पदाधिकारी तथा धनगढी नगर कमिटीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।





























