अत्तरियामा आमाको सम्झनामा अटो चालकद्वारा गर्भवतीलाई निःशुल्क सेवा

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियामा चल्ने सयौँ अटोमध्ये एउटा अटो विशेष कारणले छुट्टै देखिन्छ। त्यस अटोमा टाँसिएको सन्देश छ – “आमाको सम्मानमा गर्भवती महिलालाई निःशुल्क सेवा।”

CP Hospital Dhangadhi

यो असाधारण पहल गरेका हुन्, गोदावरी नगरपालिका–२ तेघरीका ४१ वर्षीय कृष्णराज भट्टले। लामो समय नेपाली सेनामा सेवा गरेका उनले २०७८ सालमा अवकाश पाएपछि नयाँ जीवनमार्ग रोज्दै २०७९ सालदेखि अटो चालक बने। तर, उनको अटो केवल आम्दानीको साधन मात्र बनेन, समाजमा मानवता र मातृत्वप्रतिको सम्मान फैलाउने माध्यम पनि बन्यो।

भट्टका अनुसार, स्वर्गीय आमाले गरेका योगदानलाई स्मरण गर्दै उनले गर्भवती महिलासहित वृद्धवृद्धा र अशक्त व्यक्तिहरूलाई निःशुल्क सेवा दिन थालेका हुन्। “आमाले सन्तानका लागि जुन संघर्ष र माया दिनुभयो, त्यसको सम्मानस्वरूप मैले यो सेवा सुरु गरेको हुँ,” उनले बताए।

nawajiwan
Attariya Hospital

गत दुई महिनादेखि उनी धनगढी र कञ्चनपुरसम्म पुग्ने यात्रामा पनि गर्भवती महिलालाई पूर्ण निःशुल्क सेवा दिइरहेका छन्। स्वास्थ्य चौकी जाने गर्भवती महिलाहरूलाई भने विशेष प्राथमिकताका साथ सेवा उपलब्ध गराउने गरेको उनको भनाइ छ।

यात्रु चित्रा जोशी भन्छिन्, “उहाँले निःशुल्क सेवा दिनु अत्यन्तै सहानुभूतिपूर्ण र समाजलाई प्रेरणा दिने काम हो।”

सडकमा दौडिने सयौँ अटोमध्ये कृष्णराज भट्टको अटो फरक छ — यो केवल यात्रु बोकेको साधन मात्र होइन, आमाको माया र मानवीय संवेदनाको सन्देश बोकेको अटो हो।

Advertize US