
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूले राति ११ देखि १२ बजेसम्म सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्।

व्यवसायीहरूका अनुसार काठमाडौँ, पोखरा, चितवन, बुटवल लगायतका प्रमुख शहरमा होटल, रेस्टुरेन्ट र बारहरू रातिसम्म सञ्चालन हुने परम्परा छ। यसले पर्यटकलाई सहज सेवा दिनुका साथै स्थानीय अर्थतन्त्रलाई पनि गतिशील बनाउने गरेको छ। तर धनगढीमा प्रशासनले तोकेको छोटो समय सीमा व्यवसाय र पर्यटक दुबैका लागि असुविधाजनक बनेको उनीहरूको गुनासो छ।
“धनगढी सुदूरपश्चिमको मुख्य प्रवेशद्वार हो। भारतीय पर्यटकसहित आन्तरिक यात्रुहरूको ठूलो आगमन हुन्छ। तर, समय सीमा कम भएकाले धेरैले सेवा लिन पाउँदैनन्,” व्यवसायीहरूको भनाइ छ।


नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले सामाजिक सञ्जालमार्फत व्यवसायीहरूको पक्षमा आवाज उठाउँदै भनेका छन्, “होटल व्यवसायीहरूले पर्यटक र आम नागरिकलाई गुणस्तरीय सेवा दिन निरन्तर प्रयास गर्दै आएका छन्। तर हालको समय सीमा व्यवसाय सञ्चालनमा चुनौती बनेको छ। त्यसैले, राति कम्तीमा ११–१२ बजेसम्म सञ्चालन गर्न अनुमति दिन प्रशासनलाई अनुरोध गर्दछौं।”
व्यवसायीहरूको भनाइमा, राति १२ बजेसम्म सञ्चालन गर्न पाउँदा पर्यटकलाई रात्रीकालीन सेवामा सहज हुने, स्थानीय युवाहरूका लागि रोजगारी बढ्ने र व्यवसायमै उत्साह थपिनेछ। उनीहरूले धनगढीलाई पर्यटकीय तथा व्यापारिक केन्द्रका रूपमा विकास गर्न प्रशासनले नीतिगत लचिलोपन देखाउनुपर्ने माग गरेका छन्।
































