
बैतडीको पाटन नगरपालिका–३ स्थित बनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर परापूर्व कालदेखि दलित समुदायका मुख्य पुजारीले व्यवस्थापन गर्दै आएका छन्। गैर दलित समुदायले समेत संयुक्त रूपमा पूजा गर्ने यस ऐतिहासिक मन्दिर अहिले राज्यको उपेक्षामा परेको छ।

मुख्य पुजारी धीरे लुहारका अनुसार, मन्दिरसम्म पुग्ने बाटो भने निर्माण भए पनि जीर्ण अवस्थामा छ। मन्दिरमा अन्य संरचनाहरू नहुँदा पूजाआजा गर्न कठिनाइ भैरहेको छ। बनारसी धाम विश्वनाथ सेवा समाजले स्थानीय सरकारसँग सहकार्यमा १८ करोड ८० लाखको डिपिआर तयार गरेको भए पनि हालसम्म राज्यबाट मात्र १२ लाख सहयोग प्राप्त भएको छ।
सुनुर्या नदीको पार रहेको मन्दिरमा पुल नहुँदा भक्तजनले १० मिनेटको दूरीमा २ घण्टा हिँड्नुपर्दा समस्या भइरहेको छ। पुजारी गणेश प्रसाद पन्तका अनुसार मन्दिरमा तत्काल पुल, बाटो, धर्मशाला र शौचालय निर्माणको आवश्यकता छ।


परम्परागत रूपमा दलित र ब्राह्मण एकै ठाउँमा पूजा हुने एकमात्र मन्दिर मानिने बनारसी धाममा हरेक वर्ष माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म जात्रा मनाइन्छ। भारतको कुमाउ, गढवाल, नैनीताल र पन्जाबबाट समेत दर्शनार्थी आउने गर्छन्।
पुजारीले भने, “परम्परा र ऐतिहासिक महत्व हुँदाहुँदै पनि मन्दिरको संरक्षणमा आवश्यक पहल गरिएको छैन। प्रचार–प्रसार र पूर्वाधार निर्माणमा सबै निकायको ध्यान आवश्यक छ।”
































