
आज २०८२ साल भदौ १० गते मंगलबार, भाद्र शुक्ल पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ अगस्ट २६ तारिख। आज देशभर हरितालिका तीज व्रत तथा भगवान गणेशको पूजा–अर्चना हुँदैछ।


हिन्दू धर्मशास्त्रअनुसार मंगलबार भगवान गणेशको प्रिय दिन मानिन्छ। यस दिन शुद्ध मनले गणेशपूजा तथा व्रत बस्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ। शुभ कार्यको सुरुवातमा सबैभन्दा पहिले गणेशको आराधना गर्ने प्रचलन रहेको छ।
शास्त्रअनुसार गणेशपूजाको विधि १६ भागमा विभाजित छ—आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गन्ध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, दक्षिणा र आरती–परिक्रमा। पूजामा शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्ने बताइन्छ।
मंगलबार मासु, माछा वा मदिरा सेवन नगर्नु धार्मिक दृष्टिले उपयुक्त मानिन्छ। पद्मपुराणमा वर्णन भएको कथाअनुसार गणेशले मातापिताको परिक्रमा गरेर तीर्थाटनको महत्वभन्दा माथिल्लो पुण्य प्राप्त गरेपछि ‘गणनायक’को उपाधि पाएका थिए। त्यसैले गणेशलाई लड्डु अर्पण गर्दा मातापिताप्रतिको भक्ति भावलाई स्मरण गर्नुपर्ने धार्मिक विश्वास छ।
‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुने भएकाले गणेश बुद्धि–ज्ञानका प्रतीक मानिन्छन्। उनी विघ्नबाधा निवारण गर्ने ‘विघ्नेश्वर’ र ‘विनायक’ नामले पनि परिचित छन्।
धर्मशास्त्रअनुसार गणेश भगवानलाई प्रसन्न पार्न यी ११ मन्त्र जप्न उपयुक्त हुन्छ :
१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लम्बोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः
































