कैलाली कारागार झडप अपडेट : घाइते १४ कैदीबन्दीको स्थानान्तरण, बाँकी डिस्चार्जपछि पनि अस्पतालमै

Image
Nisarga Hospital

कैलाली कारागारमा दुई साता अघि भएको हिंसात्मक झडपमा घाइते भएका कैदीबन्दीको व्यवस्थापन अझै पूरा भएको छैन। सेती प्रादेशिक अस्पतालले उपचारपछि डिस्चार्ज गरेको केही बन्दीलाई पनि अस्पतालकै कोरोना उपचार केन्द्रमा राखिएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार २३ साउनको झडपमा ४७ जना र अघिल्लो दिन घाइते भएका एक गरी ४८ जनालाई अस्पताल लगिएको थियो।

CP Hospital Dhangadhi
Attariya Hospital

जोशीले भने, “४८ कैदीबन्दीमध्ये दुई जनाबाहेक सबैलाई डिस्चार्ज गरिसकिएको छ, तर अहिलेसम्म १४ जनाको मात्रै स्थानान्तरण भएको छ। बाँकी ३२ जना डिस्चार्ज भएका र दुई जना उपचाररतलाई अस्पतालमै राखिएको छ।”

घाइते कैदीबन्दीमध्ये चार जनालाई डडेल्धुरा कारागार, तीन–तीन जनालाई डोटी र कञ्चनपुर कारागार, एक जनालाई नवलपरासी कारागारमा स्थानान्तरण गरिएको छ। तीन जना उपचारका लागि काठमाडौं लगिएका थिए भने डिस्चार्ज पछि उनीहरूलाई काठमाडौंकै कारागारमा सरुवा गरिएको छ।

स्थानान्तरण प्रक्रियामा कैदीबन्दीको निवेदन आवश्यक पर्ने र कारागार व्यवस्था विभागको अनुमतिमा कार्य भइरहेको छ। तर २३ साउनको झडपमा केही घाइतेले आफूहरूको नभई दोषीहरूको सरुवा हुनुपर्ने माग राख्दै आएका छन्।

कैलाली कारागार असुरक्षित बन्दै गएको गुनासो बढेको छ। २३ साउनको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो। त्यसअघि डडेल्धुराका कैदी हरिसिंह पालीको पनि मृत्यु भइसकेको थियो।

सोमबार कैलाली कारागारका टीकापुर–४ का ५६ वर्षीय रामकिसन चौधरीको मृत्यु भएको छ। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो र २० मिनेटमै चिकित्सकले मृत घोषणा गरेका थिए। चौधरी २९ साउनमा जबर्जस्ती करणी मुद्दामा कारागार चलान भएका थिए।