
धनगढी उपमहानगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न दमकल सञ्चालनमा ल्याएको छ। बुधबार विशेष समारोहबीच नगर प्रमुख गोपाल हमालले दमकलको उद्घाटन गरेका हुन्।

पाँच हजार लिटर पानी अटाउने क्षमता र रसायन राख्ने सुविधा भएको यो दमकल आगलागी नियन्त्रणमा प्रभावकारी हुने उपमहानगरले जनाएको छ। नगर प्रमुख हमालका अनुसार नगरका आठ स्थानमा फायर हाइड्रेन्ट स्थापना भइसकेका छन्, जसले दमकलमा पानी भर्न सहज बनाउनेछ।

“हरघडी नगर प्रहरी” भन्ने नारालाई व्यवहारिक बनाउँदै उपमहानगरले विपद् व्यवस्थापनमा गरेको लगानी र पूर्वतयारी सुदूरपश्चिममै अब्बल रहेको बताइएको छ। आगलागीको सूचना पाएको तीन मिनेटभित्र दमकल परिचालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिइयो।

उपमहानगरपालिकाले करिब ६६ लाख रुपैयाँ लागतमा नयाँ प्रविधियुक्त दमकल खरिद गरेको हो।

















