
शिक्षा ऐनलाई विभेदकारी भन्दै निजी विद्यालयहरूले देशभर एक सातादेखि धर्ना र आन्दोलनलाई तीव्र बनाएका छन्। त्यसै क्रममा आज धनगढीका निजी विद्यालयहरूले कोणसभा आयोजना गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका छन्।

प्याब्सन, एन प्याब्सनलगायतका संस्थाले शिक्षा ऐनले निजी विद्यालयप्रति सौतेनी व्यवहार गरेको भन्दै कुनै हालतमा पनि लागू हुन नदिने चेतावनी दिएका छन्। “गुणस्तरीय शिक्षा, निजी विद्यालयको प्रतिबद्धता” भन्ने नारासहित आन्दोलनमा उत्रिएका शिक्षक र विद्यालय सञ्चालकहरूले विगत सातादेखि निरन्तर कार्यक्रम गर्दै आएका छन्।

ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय गएका शिक्षकहरूलाई सुरक्षाकर्मीले गेटमै रोक्दा कोणसभा स्थलमै तनाव उत्पन्न भएको थियो। प्रमुख जिल्ला अधिकारी लम्साल बाहिर निस्कन लाग्दा शिक्षकहरूले गाडी रोकेपछि सुरक्षाकर्मी र केही शिक्षकबीच धकेलाधकेल समेत भएको थियो। अन्ततः लम्सालले ज्ञापनपत्र ग्रहण गर्दै “यो संस्कार भएन” भन्ने टिप्पणी गरेका थिए।

प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष सिबी चन्दले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। उनले भने, “सरकारले हाम्रो सम्पूर्ण कर्मचारीको जिम्मा लिए हामी सरकारीकरण गर्न समेत तयार छौँ।”





























