
डोटी : धनगढी–दिपायल–चैनपुर–उरैझन्ज्याङ्ग द्रुतमार्गअन्तर्गत दिपायल मौवा सडक खण्ड नजिकै १५ शैयाको आधारभूत अस्पताल भवन निर्माण भइरहेको छ । चार रोपनी ६ आना जग्गामा निर्माणाधीन दुईतले भवन टाढैबाट देखिने गरी उठिरहेको छ ।

गाउँपालिकाका सूचना अधिकारी डवल भाटका अनुसार २०८० असार २६ गतेदेखि सुरु भएको अस्पताल भवनको हालसम्म ७५ प्रतिशत काम सकिएको छ । करिब २६ करोड ६५ लाख १६ हजार रुपैयाँ लागतमा बन्ने यस भवनमा संघीय सरकारले १८ करोड रुपैयाँ र बाँकी गाउँपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ ।
गाउँपालिका अध्यक्ष गणेशबहादुर खड्काका अनुसार चालु आर्थिक वर्षभित्रै अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । उनका अनुसार टायल, आँगन सम्याउने र लाइटिङ जस्ता काम मात्र बाँकी छन् ।


अध्यक्ष खड्काले लामो समय अतिक्रमणमा रहेको जग्गा खाली गराएर अस्पताल निर्माण सुरु गरिएको बताए । उनका अनुसार भवन सम्पन्न भएपछि विशेषज्ञ चिकित्सकसहितका सेवाहरू उपलब्ध गराइने छन् ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायाले अस्पताल सञ्चालनमा आएपछि आदर्श र सायल गाउँपालिकाका जनतालाई समेत स्वास्थ्य सेवामा सहज हुने बताइन् । स्थानीयवासीहरूले समेत सामान्य उपचारका लागि दिपायल सिलगढी धाउनुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा राखेका छन् ।
यो अस्पताल निर्माणको ठेक्का धनगढीस्थित रोयल कन्स्ट्रक्सनले लिएको हो । अनुमानित लागत ३० करोड ११ लाख भए पनि कम्पनीले २६ करोड ६५ लाख १६ हजारमा ठेक्का पाएको थियो । डोटीका नौ स्थानीय तहमध्ये अहिलेसम्म कुनै पनि गाउँपालिकाले आधारभूत अस्पताल सञ्चालनमा ल्याउन सकेका छैनन् ।


















