
गोदावरी नगरपालिका–५ गेटामा अवस्थित बैजनाथ सहकारीले शुक्रबार आफ्नो १२औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ। सहकारीले हरेक वर्ष सामाजिक गतिविधि गर्दै स्थापना दिवस मनाउने परम्परा अनुसार यस वर्ष विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो।

कार्यक्रम संस्थाका अध्यक्ष राजबहादुर कडायतको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव मणिन्द्र बुढाले गरेका थिए। २०७० साल भदौ १३ गते स्थापना भएको बैजनाथ सहकारीले यस वर्ष “स्थानिय स्तरमा सहकारीको भूमिका” भन्ने मूल नाराका साथ वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको व्यवस्थापक मुकेश बोहराले जानकारी दिए।

प्रतियोगितामा चार विद्यालयको सहभागिता रहेको थियो। परिणाम अनुसार श्रीपुरस्थित शारदा मा.वि.की रिया विष्ट प्रथम, सोही विद्यालयका सन्तोष कुँवर द्वितीय, गेटास्थित ब्राइट स्टार पब्लिक बोर्डिङ स्कुलकी कृतिका जोशी तृतीय र शिद्धबाबा मा.वि.की दिक्षा चौधरी चतुर्थ घोषित भए। विजेताहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

निर्णायकमा शिक्षा समिति संयोजक धन बहादुर खत्री, सदस्य रामवती चौधरी र सदस्य धन सिंह बोहरा रहेका थिए।































