
थेगिम कन्स्ट्रक्सनले आठ वर्षसम्म भवन निर्माण सम्पन्न नगरेपछि सेती प्रादेशिक अस्पतालको मल्टिस्टोरी भवन निर्माण योजना ठप्प भएको छ।

२०७४ साल कात्तिकमा ठेक्का लगाइएको भवन बनेपछि जीर्ण अवस्थामा सञ्चालन भइरहेको प्रसूति सेवा सारेर पुरानो भवन भत्काउने र त्यहाँ मल्टिस्टोरी भवन निर्माण गर्ने योजना थियो। तर निर्माण कम्पनीले समयमै काम नसक्दा बजेट समेत फ्रिज भई योजना नै रोकिएको हो।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रसूति सेवा स्थानान्तरण गर्न नसकिँदा चालु आर्थिक वर्षमा मल्टिस्टोरी भवनका लागि बजेट विनियोजन भएको छैन। अस्पताल व्यवस्थापक वेदप्रकाश जोशीका अनुसार “भवन हस्तान्तरण नहुँदा प्रसूति सेवा सार्न सकिएन र बजेट समेत फ्रिज भयो।”

सुदूरपश्चिम प्रदेश सरकारले तीन वर्षसम्म बजेट विनियोजन गरे पनि प्रयोगमा आउन सकेन। गत वर्ष १८ करोड रुपैयाँ बजेट फ्रिज भएको थियो।

संघीय आयोजना कार्यान्वयन इकाईले २०७४ मा १८ करोड ७४ लाख रुपैयाँमा ठेक्का कबोल गरी थेगिम कन्स्ट्रक्सनलाई भवन निर्माण जिम्मा दिएको थियो। तर कम्पनीले पेटी ठेक्का दिँदै काम ढिलाइ गरिरहेकाले ९० प्रतिशत मात्रै काम भएको छ। बाँकी इलेक्ट्रिक, फ्लोरिङ र पेन्टिङ जस्ता काम अझै अपूर्ण छन्।
भवन निर्माणमा ढिलाइ हुँदा अस्पताल पुरानो, चुहिने र पानी जम्ने भवनमै प्रसूति सेवा दिन बाध्य भएको छ। प्रवक्ता डा. खगेन्द्रराज भट्टका अनुसार, “५० वर्ष पुरानो जीर्ण भवनमा सुत्केरी र शिशुलाई सेवा दिन आफैंमा गम्भीर अवस्था हो।”
ठेक्का रकमको ८३ प्रतिशत भुक्तानी लिएर पनि भवन अधुरो छ। निर्माण कार्य ढिलाइ गरेकाले कम्पनीलाई जरिवाना गरिएको थियो तर पछिल्ला संशोधनले जरिवनाबाट उन्मुक्ति दिएको छ।
योजना अलपत्र परेपछि अस्पतालले वैकल्पिक रूपमा तीनतले भवनमा थप तला बनाउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा यसका लागि ९४ लाख रुपैयाँ विनियोजन भएको छ।

















