
अत्तरियाः गोदावरी नगरपालिका–२ स्थित वनखेतमा नेपाली सेनाले गेट निर्माण गरेपछि स्थानीय समुदाय र विभिन्न निकायबीच विवाद चर्किएको छ।

नेपाली सेनाले उक्त क्षेत्र आफ्नो भोगाधिकारभित्र परेको दाबी गर्दै चारैतिर तारबार लगाएर संरचना निर्माण गरेको छ। दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्रवेश गर्ने मार्गमै गेट निर्माण भएपछि दैनिक ३ हजार विद्यार्थीहरूको आवत–जावत प्रभावित भएको छ।

गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले सेनालाई सो क्षेत्र, बसपार्क र लामिताल क्षेत्र छोड्न आग्रह गर्दै छलफल भइरहेको बताए। तर नेपाली सेनाका पोष्टपति भेषबहादुर बुढाथोकीले सेनाले आफ्नो भोगाधिकार प्राप्त १७.५ हेक्टर जग्गामा तारबार गर्दै संरक्षण गरिरहेको स्पष्ट पारे।

इलाका प्रहरी कार्यालय मालाखेतीले भने प्रहरी कार्यालयसँग समन्वय गर्दै स्थानीय भोगचलनमा रहेका जग्गा सेनाले लिने प्रयास गरेपछि सहयोग मागेको छ। सैनिक गणले भौतिक संरचना निर्माण गरेको भए पनि प्रहरीको दाबी अनुसार जग्गा छोड्नुपर्ने बताइएको छ।
साविक मालाखेती गाविस–७ को पूर्व–पश्चिम राजमार्ग, दीपायल जाने सडक र जंगल क्षेत्रको १७.५ हेक्टर राष्ट्रिय वन क्षेत्र अहिले नेपाली सेनाले भोगाधिकार प्राप्त गरेको छ। यस क्षेत्रमा करिब एक सय घरधुरी, अत्तरिया बसपार्क र स्थानीय समुदायको बसोबास रहेको छ।
अत्तरिया क्षेत्रको राष्ट्रिय वन र दुर्गालक्ष्मी महिला सामुदायिक वनले वर्षौंदेखि संरक्षण गर्दै आएको वन क्षेत्रमा सेनाले गत असोजदेखि चेकपोष्ट राखेर सुरक्षा र संरक्षणका कार्य सञ्चालन गरिरहेको छ।
स्थानीय समुदाय भने निजी र सार्वजनिक भोगचलनमा रहेको जग्गा सेनाले छोड्नुपर्ने माग राख्दै आएको छ। विवाद समाधानका लागि सम्बन्धित निकायबीच अझै वार्ता आवश्यक देखिएको छ।






















