सुदूरपश्चिममा ट्राफिक प्रहरीलाई २४ लाख मूल्य बराबरका आधुनिक उपकरण हस्तान्तरण

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश ट्राफिक प्रहरीलाई २४ लाख २३ हजार रुपैयाँ बराबरका विभिन्न उपकरण हस्तान्तरण गरेको छ। शुक्रबार धनगढीमा आयोजित विशेष समारोहमा मन्त्री हिरा सिंह सार्कीले ट्राफिक प्रहरी प्रमुख डिएसपी प्रेम शाहीलाई सामग्रीहरू प्रदान गरे।

CP Hospital Dhangadhi

हस्तान्तरण गरिएका उपकरणहरूमा डकिङ स्टेशन, भण्डार प्रणाली, प्रिन्टरसहितको ब्रेथलाइजर, फ्लोरोसेन्ट ज्याकेट, २ टन क्षमताको एयर कन्डिसनर, बडी वर्न क्यामेरा, म्याजिक लाइट लगायतका उपकरणहरू समावेश छन्। यी उपकरणहरूले ट्राफिक प्रहरीको दैनिक कार्य सहज बनाउन र सडक सुरक्षालाई प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

मन्त्री सार्कीले कार्यक्रममा सामग्रीहरूको प्रभावकारी उपयोगमा विश्वास व्यक्त गर्दै भने, “हामीले ट्राफिक प्रहरीको कार्यलाई सहज बनाउन यी उपकरणहरू प्रदान गरेका छौं। यी उपकरणले सडक सुरक्षालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्।”

nawajiwan
Attariya Hospital

प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रेम शाहीले पनि सामग्रीले सडकमा नियम पालनामा सहयोग पुग्ने र दुर्घटना न्यूनीकरणमा योगदान पुर्‍याउने बताए। उनले प्राप्त सामग्रीहरू आवश्यकताअनुसार वितरण गरिने र प्रभावकारी रूपमा प्रयोग गरिने प्रतिबद्धता जनाए।

सुदूरपश्चिम प्रदेश सरकारले सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको छ। मन्त्रालयले आगामी दिनमा पनि ट्राफिक प्रहरीसँगको साझेदारी र आवश्यक उपकरण र पूर्वाधार उपलब्ध गराउने योजना बनाएको जनाएको छ।