
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लगानीकर्ताहरूको सुझावअनुसार लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताएका छन्।

शनिबार काठमाडौंमा हिन्दु इकोनोमी फोरमका प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले स्वदेशी तथा विदेशी सबै लगानीकर्तालाई सुदूरपश्चिममा स्वागत गर्न आतुर रहेको उल्लेख गर्दै, “तपाईंहरू निर्धक्क भएर लगानी गर्नुहोस्, हामी वातावरण तयार पार्छौँ,” भनेका छन्।
शाहले सुदूरपश्चिमलाई समस्या मात्र भएको क्षेत्र नठानी सम्भावना भरिपूर्ण प्रदेशका रूपमा हेर्न आग्रह गरे। उनले केही समयअघि भारत भ्रमणमा भारतीय मुख्यमन्त्रीहरूसँग सुदूरपश्चिममा लगानी ल्याउने विषयमा छलफल भएको र यसपटकको लगानी सम्मेलनमा भारततर्फबाट सकारात्मक संकेत मिल्ने विश्वास व्यक्त गरे।


अन्तरक्रिया कार्यक्रममा हिन्दु इकोनोमी फोरमका प्रतिनिधिहरूले धार्मिक पर्यटन क्षेत्रलाई प्राथमिकता दिई लगानी ल्याउन पहल गर्ने प्रतिबद्धता जनाए। नेपाल संयोजक सुरज बैद्यले सुदूरपश्चिममा धेरै धार्मिक स्थलहरू रहेको बताउँदै “विश्वभरका हिन्दुहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नेछौँ” भने।
पूर्व राजदूत तथा महासचिव महेश दाहालले नेपालमा हिन्दुहरूको चासो उच्च रहेको भन्दै धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिए। उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी र पूर्व गभर्नर चिरञ्जीवी नेपालले पनि सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको भन्दै भारत र चीनसँगको ट्रान्जिट तथा भारतीय राज्य उत्तर प्रदेश र उत्तराखण्डका लगानीकर्तालाई आकर्षित गर्नुपर्ने सुझाव दिए।
कार्यक्रममा नीति तथा योजना आयोगका सदस्य नृप सुनारले प्रदेशको सम्भावना र अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे भने परियोजना विज्ञ दिलीप भट्टले आगामी मंसिर १ र २ गते हुने लगानी तथा विकास सम्मेलनको तयारीबारे जानकारी दिए।

















