
रमेश बहादुर सिंह/ बझाङ: वाल विकास माध्यमिक विद्यालयले आफ्नो ६४औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको माध्यमिक स्तरको अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ।

प्रतियोगितामा पाँच वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो। जसअन्तर्गत सत्यवादी मावि, वाल विकास मावि, सुनिपिपलौर मावि, सुवेडा, पान्डु मावि, पडेश र जाल्पा मावि, देवलका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए।
कडा प्रतिस्पर्धाबीच सत्यवादी माध्यमिक विद्यालय प्रथम, वाल विकास माध्यमिक विद्यालय द्वितीय, र सुनिपिपलौर मावि सुवेडा तृतीय स्थानमा विजयी भएका छन्। निर्णायक मण्डलले निष्पक्ष मूल्यांकनका आधारमा नतिजा घोषणा गर्दै विजयी विद्यार्थीलाई बधाई दिएको थियो।


कार्यक्रममा स्थानीय अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो। विजेताहरूलाई पुरस्कार विद्यालयको ६४औं वार्षिकोत्सव मुख्य समारोहमा वितरण गरिने विद्यालयले जनाएको छ।
आगामी दिनमा यस्ता शैक्षिक तथा रचनात्मक कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता प्रअ केशब खातीले व्यक्त गरे।

















