
गायन रियालिटी शो नेपाल आइडल छैटौँ सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन्। आइतबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्।

२० वर्षीया गंगा सोनाम सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, बडहरेकी रहन्दी हुन्। पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी सन्तान गंगाले गाउँकै चण्डेश्वरी माविबाट कक्षा १२ उत्तीर्ण गरेकी हुन्।

विजेता बनेसँगै गंगाले उपाधि, ट्रफी सहित नगद २५ लाख रुपैयाँ तथा विभिन्न आकर्षक उपहार प्राप्त गरेकी छन्। यस सिजनमा सिक्किम (भारत) की बबिता थापामगर फर्स्ट रनरअप भई नगद १० लाख रुपैयाँ हात पारिन् भने चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप बनेर नगद ५ लाखसहित सम्मानित भइन्।

त्यस्तै, दार्जिलिङका अभिनय खाती चौथो र काठमाडौंका मृनल मानन्धर पाँचौँ स्थानमा रहे। दुबै जनाले एक–एक लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरे।



















