
कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेस्थित विश्वनाथ महादेव मन्दिर परिसरमा आजदेखि गौरा पर्व विशेष मेला सुरु भएको छ। भदौ २१ गतेसम्म चल्ने यस मेलाको आज दिउँसो १ बजे सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बमले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको गौरा पर्व समितिकी संयोजक लक्ष्मी बिनाडीले जानकारी दिएकी छन्। मेलामा विभिन्न ठाउँका चर्चित डेउडा कलाकारहरूको पनि प्रस्तुति रहनेछ।

कार्यक्रमअनुसार भदौ १७ गते सावित्री धामी र उज्ज्वल सिंह साउँद, १८ गते ममता धामी र कृष्ण धामी, १९ गते टिका सानु र दीपक रिमाल तथा २० गते पदम जोशी र तुलसी बुढा प्रस्तुत हुनेछन्।

मेलालाई सफल बनाउन समितिले सबैलाई सहभागिता जनाउन र सहयोग पुर्याउन आग्रह गरेको छ।
































