
विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले कैलालीको गोदावरी नगरपालिका–१ बिजौरा माछा पोखरी नजिकबाट ९ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित एक युवकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, प्रहरी चौकी गेटा र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले मोटरसाइकल (से.३ प. ५१४१) चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो।

मोटरसाइकल चालक २७ वर्षीय राजु चौधरीले भाइजर मुनि र ह्याण्डिलको टि–गार्ड भित्र लुकाएर राखेको अवस्थामा ३ पोका ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ। बरामद पदार्थको शुद्ध तौल ९ ग्राम रहेको र प्रारम्भिक परीक्षणमा खैरो हेरोइन भएको पुष्टि भएको छ।

चौधरीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका डिएसपी रण बहादुर चन्दले जानकारी दिएका छन्।



















