
कैलालीको गेटास्थित सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ।


आइतबारदेखि सुरु भएको २३औँ सत्याग्रहको तेस्रो दिन मंगलबार बिहान उनको ग्लुकोजको मात्रा ३७ पुगेको सहयोगी डा. अमृत जैशीले जानकारी दिए। उनले भने, “यो अवस्था अति खतरनाक हो। ७० भन्दा तल पुगेमा जुनसुकै बेला बेहोस हुने सम्भावना हुन्छ। डा. केसीले नर्मल स्लाइन बाहेक अन्य औषधि लिन मानेका छैनन्।”
डा. केसीले यसपटक राखेका प्रमुख मागहरूमा–
-
प्रधानमन्त्री र चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय फिर्ता गर्नुपर्ने,
-
शुल्क वृद्धि नगर्नुपर्ने,
-
सम्झौता अनुसार इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्ने,
-
गेटास्थित मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने,
-
एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी तथा पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी ऐन पारित गर्नुपर्ने,
-
मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउनुपर्ने,
-
सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्नुपर्ने,
-
अघिल्ला सम्झौता कार्यान्वयन गर्नुपर्ने छन्।
यसबाहेक उनले भारतले लिपुलेकमा गरेको अतिक्रमण अन्त्य गरी भूमि फिर्ता गर्नुपर्ने, रुस–युक्रेन युद्ध तथा गाजामा भइरहेको आक्रमण बन्द गर्नुपर्ने माग पनि राखेका छन्।
निकट सहयोगीहरूका अनुसार मंगलबार अपराह्नसम्म सत्याग्रह अन्त्य गर्ने तयारी भइरहेको छ।


















