
अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार प्रदेशको समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माणमा लागिरहेको भन्दै ढुक्क भएर लगानी गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा नेपाल पस्मिना उद्योगसँगको छलफल तथा अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री शाहले सुदूरपश्चिममा भेडा तथा च्यांग्रा पालनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै ऊनको गुणस्तर वृद्धि गरेर अन्तर्राष्ट्रिय बजारमा ‘सुदूरपश्चिम ब्रान्ड’ स्थापित गर्ने लक्ष्य प्रदेश सरकारले लिएको बताए। उनले भने, “हामी प्रवर्द्धनमा लागिरहेका छौँ, तपाईंहरूले लगानी गर्नुहोस्, प्रदेश सरकारले आवश्यक सहयोग गर्छ।”
उनले साझासुविधा केन्द्रमार्फत इन्स्योरेन्स, औषधि, नस्ल सुधारजस्ता सेवा किसानलाई उपलब्ध गराइने उल्लेख गर्दै, पीपीपी मोडलमा उद्योग व्यवसाय प्रवर्द्धन गरिने जानकारी दिए। पूर्वमन्त्री नरेश शाहीले भेडा पालनमार्फत आम्दानी बढाउन सकिने बताउँदै हिमाली क्षेत्रका गाउँपालिकामा भेडा बैंक स्थापनाको तयारी भइरहेको जानकारी दिए।


नेपाल पस्मिना इन्डस्ट्रिज एसोसियसनका अध्यक्ष धन प्रसाद लामिछानेले व्यवसायीक पशुपालकका लागि तालिम र साझासुविधा केन्द्र अपरिहार्य रहेको बताए। गलैचा उत्पादक संघका बलराम गुरुङले हाल तिब्बत र न्युजिल्यान्डबाट कच्चा पदार्थ ल्याउनु पर्ने बाध्यता रहेको बताउँदै सुदूरपश्चिममा तत्काल लगानी गर्न इच्छुक रहेको बताए।
त्यस्तै, व्यवसायीहरूले छुर्पी, मासु र चौरीपालनको व्यवसायलाई समेत प्रवर्द्धन गर्न सकिने सुझाव दिएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिर १ र २ गते धनगढीमा विकास तथा लगानी सम्मेलन आयोजना गर्न लागेको छ। उक्त सम्मेलनको तयारीका लागि काठमाडौंमा व्यवसायी तथा लगानीकर्तासँग छलफल भइरहेको छ। छलफलमा मुख्यमन्त्री शाहसहित प्रदेश सरकारका मन्त्री, विभिन्न दलका प्रतिनिधि, नीति तथा योजना आयोगका पदाधिकारी तथा विज्ञहरूको सहभागिता रहेको छ।

















