
चीनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्षको अवसरमा बुधबार राजधानी बेइजिङको तियानमेन स्क्वायरमा विशाल सैन्य परेड आयोजना गर्दैछ। बिहान ९ बजे (नेपाली समय ६:४५) सुरु हुने यो कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत विश्वका नेताहरू उपस्थित छन्।

यो चीनले आयोजना गरेको विजय दिवसको दोस्रो परेड हो। यसअघि सन् २०१५ मा पहिलो पटक आयोजना गरिएको थियो। करिब ७० मिनेट लामो परेडमा ४५ सैनिक टुकडीले मार्च पास गर्नेछन्। चीनले ड्रोन, हाइपरसोनिक मिसाइल, फाइटर जेटसहित उन्नत सैन्य शक्ति प्रदर्शन गर्दै जनमुक्ति सेनाका सयौँ विमान देखाउने तयारी गरेको छ।
कार्यक्रममा ८० बिगुलरले जापानको पराजयलाई स्मरण गर्नेछन् भने १ हजारभन्दा बढी संगीतकारले १४ लहरमा चीनको प्रतिरोध इतिहास प्रस्तुत गर्नेछन्। दर्शकलाई हरियो, रातो र सुनौलो रङका प्रतीकात्मक कुर्सीहरूमा बसालिएको छ।


विशेषतः उत्तर कोरियाली नेता किम जोङ उन ६६ वर्षमा पहिलोपटक चिनियाँ सैन्य परेडमा सहभागी हुँदैछन्। युरोपबाट स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र सर्बियाका राष्ट्रपति अलेक्सेन्डर भुसिच मात्र सहभागी छन्।
चीनले सन् १९३१ मा जापानी आक्रमणपछिको संघर्षदेखि १९४५ मा जापानको आत्मसमर्पणसम्मको इतिहासलाई यस दिन स्मरण गर्दै विजय दिवसको परेड आयोजना गर्ने गरेको छ।
































