
हरेक सहरमा चुनौती बनेको फोहर व्यवस्थापनमा पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबीचको सहकार्य उल्लेखनीय बनेको छ। धनगढीले एकपटक प्रयोगपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएर उदाहरणीय अभ्यास प्रस्तुत गरेको छ।

मङ्गलबार धनगढीमा आयोजना भएको परियोजनाको प्रस्तुतीकरण कार्यक्रममा सहभागी वक्ताले फोहरको उचित व्यवस्थापनमार्फत आयआर्जन र रोजगारी सृजना गर्नुपर्नेमा जोड दिएका छन्।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फोहर व्यवस्थापनलाई पालिकाको गौरवको योजना घोषणा गर्दै भने, “सडक, पुल, भवन होइन, हाम्रो गौरवको योजना फोहर व्यवस्थापन र सरसफाइ हो। हामीले यसलाई पहिलो प्राथमिकता दिएर वार्षिक बजेट र कार्यक्रम तय गरेका छौँ।”


उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले फोहरबाट बायोग्यास उत्पादन र विभिन्न वस्तु निर्माण गर्ने तयारी भइरहेको बताए। उनले ९५ प्रतिशत फोहर घरघरबाटै वर्गीकरण भएर आउँछ भने अस्पतालजन्य फोहरका लागि बेग्लै संरचना सञ्चालनमा रहेको जानकारी दिए। निजी क्षेत्र, समुदाय, विद्यालय तथा सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्दै फोहर व्यवस्थापनमा व्यापक पहल भइरहेको छ।
पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सृजना परियोजना’ अन्तर्गत फोहर व्यवस्थापन र हरित रोजगारीमा आधारित नयाँ अभ्यास प्रस्तुत गरिएको छ। परियोजनाका सहजकर्ता नेत्र तिमिल्सिनाले बताएअनुसार, यो पहलले चक्रीय अर्थतन्त्रमा आधारित रिसाइक्लिङ उद्योग स्थापना गर्न जोड दिएको छ।
परियोजनाले पोखराका १३६ वटा टोलमा समुदायमा सचेतना अभियान सञ्चालन गर्दै फोहर सङ्कलन, ढुवानी र वर्गीकरणमा सहयोग पु¥याइरहेको छ। यसले प्रदूषण घटाउने र वातावरणीय प्रभाव न्यूनीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ।
































