
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं ३, १०, ११ र १२ का वडा कार्यालयले सडकमै टेवल–कुर्सी राखेर कामकाज गर्ने निर्णय गरेका छन्। चौकीडाँडा–फल्टुडे सडक खण्ड ६ वर्षसम्म पनि निर्माण नहुँदा सेवाग्राहीलाई सास्ती भएकाले वडाध्यक्षहरु सामूहिक आन्दोलनमा उत्रिएका हुन्।

वडा नं ३ का अध्यक्ष तेज राज अवस्थी, वडा नं १० का अध्यक्ष रवीन्द्र शाही, वडा नं ११ का अध्यक्ष प्रेम सिंह बडैला र वडा नं १२ का अध्यक्ष भीम बहादुर खड्कासहितका जनप्रतिनिधिहरु अब सडकमै बसेर सेवाप्रवाह गर्न तयार भएको घोषणा गरेका छन्। उनीहरुको भनाइमा दैनिक यातायात अवरोध, जनताको दुःख र लामो प्रतीक्षापछि पनि सुनुवाइ नहुँदा यस्तो कदम चाल्नुपरेको हो।


स्थानीयवासीले पटक–पटक नगरपालिका, जिल्ला प्रशासन कार्यालय र भौतिक पूर्वाधार कार्यालयमा दवाव दिए पनि सडक निर्माणको काम अगाडि नबढेको गुनासो गरेका छन्। उनीहरुका अनुसार ठेक्का पाएको निर्माण कम्पनीले काम नगरेको र सम्बन्धित निकायले कुनै कारबाही नगरेपछि वडाध्यक्षहरुले सडकमै कामकाज गरेर सरकार र निर्माण कम्पनीलाई दवाव दिन लागेका हुन्।
जनप्रतिनिधिहरुले तत्काल निर्माण कम्पनीलाई प्रकाउ गरी काम सुरु गराउन वा ठेक्का रद्द गरी अन्य सक्षम कम्पनीमार्फत काम अघि बढाउन माग गरेका छन्। उनीहरु भन्छन्, “सडक बन्नासाथ जनताले राहत पाउँछन्, अन्यथा हामी सडकमै कार्यालय सञ्चालन गरेर निरन्तर दवाव दिन्छौं।”

















