
काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले बुधबार संघीय सरकारका तीन मन्त्री र एक राज्यमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ।

मुख्यमन्त्री शाहले गृहमन्त्री रमेश लेखक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिकसँग भेट गरेर आगामी सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन–२०८२ का तयारीबारे छलफल गरेका हुन्।

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रदेश सरकारको तयारीबारे जानकारी दिए। उनले प्रदेशको दिगो विकासका लागि संघीय सरकारसँग सहकार्य र कानुनी स्पष्टतामा सहमति आवश्यक रहेको बताए।

कृषि तथा पशुपन्छी विकास मन्त्री अधिकारीले लगानीकर्ताको विश्वास बढाउन निर्यातमुखी उत्पादन सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले दातृ निकाय मात्र नभई वैदेशिक व्यक्तिगत लगानीकर्तासमेत आकर्षित हुने नीतिगत व्यवस्था र जग्गा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। साथै कृषि क्षेत्रका चुनौती समयमै पहिचान गर्न सके जोखिम न्यून हुने उनको भनाइ थियो।





























