
कैलालीमा जापानीज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणका नयाँ केसहरू देखिएका छन्। स्वास्थ्य कार्यालय कैलालीका अनुसार अहिलेसम्म आठ जना संक्रमित भेटिएका छन्। जानकी गाउँपालिका–२ का ७६ वर्षीय पुरुषको यसै रोगका कारण मृत्यु भएको छ।

मच्छरबाट सर्ने यो भाइरल रोगले मस्तिष्कमा गम्भीर असर पुर्याउँछ। स्वास्थ्य कार्यालयका सूचना अधिकारी मीन बहादुर धामीका अनुसार सरसफाइमा बेवास्ता, खोप छुट्टिनु र भारततर्फ बसाइँसराइ हुने कारणले चुनौती थपिएको छ।

उच्च ज्वरो, टाउको दुख्ने, वाकवाकी, बान्ता, थकान, कमजोरी महसुस हुने तथा तौल घट्ने यस रोगका लक्षण हुन्। टिकापुर नगरपालिका र जानकी गाउँपालिका क्षेत्रमा यसको जोखिम बढी रहेको छ।

धामीका अनुसार लामखुट्टे नियन्त्रण नै रोकथामको प्रमुख उपाय हो। राति झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने, वरिपरिको फोहोर पानी हटाउने, टायर वा भाँडामा पानी जम्न नदिने र पशुपालन क्षेत्र नजिक विशेष सतर्कता अपनाउनुपर्ने उनले सुझाव दिएका छन्।































